२२ असार,काठमाडौं । सहआयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मेक्सिकोको घरेलु मैदान अज्टेका रंगशालामा आज बिहान भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले दुई गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपे।
घरेलु टोली मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले समान एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पहिलो हाफमा इंग्ल्यान्डले २–१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुवै टोलीले थप एक–एक गोल गरेका थिए।
इंग्ल्यान्ड ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भए पनि अन्तिमसम्म अग्रता जोगाउँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो।
यो हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को सहआयोजक क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिएको थियो।
खराब मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको उक्त खेलपछि इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।



















