२४ असार,वीरगञ्ज । भारत–नेपाल सीमास्थित रक्सौल नाकाबाट वैध यात्रा कागजात तथा भिसाबिनै नेपाल प्रवेश गर्ने प्रयास गरेकी एक युक्रेनी महिला भारतीय सुरक्षा निकायको नियन्त्रणमा परेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा नेपाल प्रवेशको प्रयास गरिरहेकी ती महिलालाई प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले संयुक्त रूपमा नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीसँग आवश्यक यात्रा कागजात तथा वैध भिसा नरहेको खुलेको जनाइएको छ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय गुप्तचर तथा सुरक्षा निकायहरूले महिलासँग विस्तृत सोधपुछ गरिरहेका छन्। उनी भारत कसरी आइन्, नेपाल जानुको उद्देश्य के थियो तथा यस घटनामा कुनै व्यक्ति वा सञ्जालको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
यस घटनापछि भारत–नेपाल सीमामा सुरक्षा निगरानी थप कडा पारिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यद्यपि, अनुसन्धान जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।



















