२४ असार,वीरगञ्ज । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित भारत–नेपाल सीमावर्ती बनकटवा प्रखण्डमा गरिएको संयुक्त छापामारीमा तस्करीका लागि लुकाइराखिएको करिब २ हजार बोरा रासायनिक मल बरामद गरिएको छ। साथै नक्कली डीएपी (डाइ-अमोनियम फस्फेट) मल उत्पादन गर्ने गिरोहको समेत पर्दाफास भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार २२ गते राति सशस्त्र सीमा बल (एसएसबी) को ७१औँ बटालियन, स्थानीय प्रहरी प्रशासन तथा जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले बडहरवा, रेगनिया, आठमोहन र बीजबनी क्षेत्रमा छापामारी गरेको थियो। उक्त अभियानका क्रममा ठूलो परिमाणमा लुकाइराखिएको रासायनिक मल बरामद गरी जफत गरिएको हो।
घटनामा संलग्न रहेको आरोपमा जावेद अन्सारी, विश्वनाथ राय, सिकन्दर राय, सिखु राय र सुधीर रायविरुद्ध कालोबजारीसम्बन्धी मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको भारतीय अधिकारीहरूले जनाएका छन्।
त्यसैगरी अगरवा गाउँका प्रमोद राय र मदन राय नक्कली डीएपी मल उत्पादन गरिरहेको अवस्थामा फेला परेपछि उनीहरूविरुद्ध पनि कानुनी कारबाही प्रक्रिया सुरु गरिएको छ।
जिल्ला कृषि पदाधिकारी मनीष कुमार सिंहका अनुसार गोप्य सूचनाको आधारमा उक्त छापामारी गरिएको हो। सीमावर्ती क्षेत्रमा मलको कालोबजारी नियन्त्रण गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिने तथा किसानलाई सहज रूपमा गुणस्तरीय मल उपलब्ध गराउन कृषि विभाग प्रतिबद्ध रहेको उनले बताएका छन्।
बिहार कृषि विभागका अनुसार यसअघि पनि पूर्वी चम्पारण जिल्लाका विभिन्न प्रखण्डमा रहेका मल बिक्री केन्द्र तथा व्यवसायीविरुद्ध मलको कालोबजारी गरेको आरोपमा मुद्दा दर्ता भइसकेको छ। सीमावर्ती क्षेत्रमा मलको अवैध कारोबार र नक्कली मल उत्पादन नियन्त्रणका लागि निगरानी थप कडा पारिएको जनाइएको छ।



















