Logo

२४ असार,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले पेन डाउन आन्दोलन सुरु गरेका छन्। दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले कामकाज ठप्प पारेका हुन्।

मङ्गलवार दिउँसो करिब १२:५१ बजे गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको छ। घटनापछि कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

कर्मचारीहरूले कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको दाबी गर्दै यसलाई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमणका रूपमा लिएका छन्। यस्तो घटनाले कर्मचारीको मनोबल कमजोर पार्नुका साथै प्रशासनिक कामकाज र सुशासनमा नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ।

संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा घटनाको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहु–क्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषय रहेको उल्लेख गरिएको छ। उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको कुनै व्यक्तिगत संलग्नता वा जिम्मेवारी नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ।

कर्मचारीहरूले कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिमाथि सङ्घीय कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। साथै सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

माग सम्बोधन नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कार्यालयको कामकाज बहिष्कार गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र पेन डाउन आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

कर्मचारीहरूको आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा प्रभावित भएको छ भने गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन्।

यसैबीच, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार