Logo

२४ असार, काठमाडौं । राहदानी विभागले आगामी असार २९ गतेदेखि आफ्नो सेवालाई पूर्ण रूपमा नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेसँगै सेवा प्रवाहमा केही फेरबदल गरेको छ ।

विभागले एक सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिको प्राविधिक कामलाई दृष्टिगत गरी आगामी असार २५ र २६ गते दुई दिनका लागि राहदानीसम्बन्धी सबै नियमित सेवाहरू स्थगित गरिएको जनाएको छ । यद्यपि, सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै तयार भइसकेका राहदानीहरू लिन आउने कार्य भने उक्त अवधिमा पनि निरन्तर सुचारु रहने विभागले स्पष्ट पारेको छ ।

विभागले आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई तोकिएको दुई दिनमा विभागमा सम्पर्क गरी राहदानी लिन आग्रह गरेको छ । नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै विभागको सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ ।

यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको विभागले तोकिएको स्तरोन्नतिको समयमा सेवाग्राहीबाट सहयोगको अपेक्षा गरेको छ ।


सम्बन्धित समाचार