Logo

२४ असार,काठमाडौं । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। अन्तिम–१६ का खेल सम्पन्न भएसँगै अन्तिम आठमा स्थान बनाएका टोलीहरूको टुंगो लागेको हो।

क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन्।

पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच नेपाली समयअनुसार बिहीबार मध्यराति १:४५ बजे प्रतिस्पर्धा हुनेछ।

दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियम शुक्रबार राति १२:४५ बजे आमनेसामने हुनेछन्। स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने बेल्जियमले अमेरिकालाई ४–१ गोलअन्तरले हराएको थियो।

तेस्रो क्वार्टरफाइनलमा पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध खेल्न लागेका नर्वे र इङ्ग्ल्यान्ड शनिबार राति २:४५ बजे भिड्नेछन्।

अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आइतबार बिहान ६:४५ बजे प्रतिस्पर्धा हुनेछ।

अन्तिम–१६ अन्तर्गत बुधबार बिहान भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यस्तै, गएराति भएको अर्को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो।


सम्बन्धित समाचार