२७ असार,काठमाडौं । महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठेको छ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीको घटनालाई लिएर ६ बुँदे धारणा सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्।
ढुङ्गानाले गणेश नेपालीको घटना आत्महत्या नभई आत्मदाह भएको दाबी गर्दै यसलाई राज्यको नीतिप्रतिको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको हो।
उनले गणेश नेपालीको आत्मदाह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी व्यवस्थाप्रतिको असन्तुष्टिको चरम अभिव्यक्ति भएको दाबी गरेका छन्। नागरिकको आर्थिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै ल्याइने नीतिले यस्ता अवस्था सिर्जना गर्न सक्ने उनको भनाइ छ।
ढुङ्गानाले ट्राफिक जरिवाना सम्बन्धी प्रस्तावित व्यवस्था सच्याउनुपर्ने र गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार यस्तो निर्णयले राज्यलाई जनभावना र नागरिकका समस्याप्रति थप संवेदनशील बन्न प्रेरित गर्नेछ।
उनले गणेश नेपालीलाई शहीद घोषणा गरिए भविष्यमा दण्ड तथा जरिवाना सम्बन्धी नीति निर्माण गर्दा नागरिकको आर्थिक अवस्थालाई ध्यान दिने नजिर स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
यद्यपि, ढुङ्गानाले आत्मदाह गर्ने सबै व्यक्तिलाई स्वतः शहीद घोषणा गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। राज्यको नीतिगत अत्याचार वा अन्यायको प्रतिरोधका क्रममा भएको घटनालाई भने सम्बन्धित परिस्थितिका आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको धारणा छ।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।



















