२७ असार,काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिए।
उनले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी समयमै सूचना प्रवाह, उद्धार तथा राहतका कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी गर्न आग्रह गरे।
मुख्यमन्त्री शाहले विपद् व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, साझेदार संस्था, निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए।
आपत्कालीन अवस्थामा प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न कमाण्ड पोस्टलाई सक्रिय बनाएर परिचालन गर्न पनि उनले निर्देशन दिए।
उनले विपद्का बेला जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र द्रुत प्रतिकार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए।



















