Logo

 २७ असार,काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।

यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि वरियताका आधारमा आयुक्त डा. तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो।

भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। पाँच सदस्यीय हुने निर्वाचन आयोगमा हाल आयुक्त डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र कायम छन्।

यसअघि तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल २०७९ फागुन ४ गते सकिएको थियो।

यसैबीच, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तका लागि सिफारिस गरेको छ। उनीहरूको नियुक्ति प्रक्रिया संसदीय सुनुवाइपछि अघि बढ्नेछ।


सम्बन्धित समाचार