Logo

२७ असार,चितवन । चितवनको माडीस्थित ऐतिहासिक एवं धार्मिक पर्यटनस्थल सोमेश्वरगढमा नेपाल एकीकरण अभियानका महान् योद्धा तथा तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमाको अनावरण गरिएको छ।

सैनिक प्रतिमाको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना (श्री नयाँ गोरख गण) को सहकार्यमा मर्मत, पुनर्निर्माण तथा स्तरोन्नति गरी शनिबार विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको अध्यक्षता तथा उपप्रमुख खेमप्रसाद महतोको स्वागतमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्यपृतना मुख्यालयका उपरथी विष्णुकुमार खड्काले प्रतिमाको अनावरण गर्नुभयो। कार्यक्रममा मेयर महतोले सोमेश्वरगढ परिसरमा निर्माण गरिएको ढुङ्गेधाराको उद्घाटन गर्नुभयो भने बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो।

कार्यक्रममा नेपाली सेना, जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सोमेश्वरगढ नेपालको एकीकरण इतिहास, धार्मिक आस्था र पर्यटनको दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

नेपाल एकीकरणकालमा दक्षिणी क्षेत्रको महत्वपूर्ण सैनिक आधारस्थलका रूपमा परिचित सोमेश्वरगढ ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध स्थल मानिन्छ। यहाँ अवस्थित सोमेश्वर कालिका–महादेव मन्दिरसँगै अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा स्थापना भएपछि गढीको ऐतिहासिक पहिचान थप उजागर भएको विश्वास गरिएको छ।

माडी नगरपालिका र नेपाली सेनाको संयुक्त पहलमा सम्पन्न प्रतिमा पुनर्निर्माण कार्यले सोमेश्वरगढलाई इतिहास, वीरता र आस्थाको संगमस्थलका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ। स्थानीय सरकार तथा प्रदेश सरकारले यस क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ पूर्वाधार विस्तार र संरक्षणका कामलाई निरन्तर अघि बढाइरहेको छ।


सम्बन्धित समाचार