२७ असार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा भारतबाट बंगलादेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्।
रोयटर्ससँगको अन्तर्वार्तामा हसिनाले आफू एक्लै नभई अवामी लिगका धेरै वरिष्ठ नेतासहित स्वदेश फर्किने र कानुनी प्रक्रियाको सामना गर्ने बताएकी हुन्।
७८ वर्षीया हसिनाले आफू फर्किएपछि पक्राउ पर्न वा ज्यान जोखिममा पर्न सक्ने भए पनि आफ्नै भूमिमा फर्किन चाहेको बताइन्। उनले आफ्नो देश र परिवारसँग जोडिएको भावनाका कारण स्वदेश फर्किनुपर्ने धारणा राखेकी छन्।
यद्यपि, हसिनाले स्वदेश फर्किने निश्चित मिति भने सार्वजनिक गरेकी छैनन्।
बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टरमार्फत भारत पुगेकी थिइन्। आन्दोलनका क्रममा तत्कालीन सरकारको दमनबाट करिब १ हजार ४ सय जनाको मृत्यु भएको दाबी गरिएको छ।
उक्त घटनामा हसिनालाई दोषी ठहर गर्दै बंगलादेशको अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको छ। हाल भारतमा रहेकी हसिनालाई बंगलादेश सरकारले फिर्ता पठाउन पटक–पटक आग्रह गरे पनि भारतले त्यसमा सकारात्मक कदम नचालेको जनाएको छ।
हसिना सत्ताच्युत भएपछि बंगलादेशमा नयाँ राजनीतिक परिस्थिति बनेको छ। गत फेब्रुअरी १२ मा भएको आम निर्वाचनपछि पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइभन्दा बढी सिट जितेको र जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेको बताइएको छ।
निर्वाचनमा प्रतिबन्धका कारण हसिनाको दल अवामी लिग सहभागी हुन पाएको थिएन। रहमान लामो समय बेलायतमा निर्वासनमा बसेपछि सन् २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको केही दिनपछि उनकी आमा खालिदा जियाको निधन भएपछि उनी पार्टी नेतृत्वमा आएका थिए।
यता, भारतमा रहेकी हसिनाले उक्त निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ को संज्ञा दिएकी थिइन्।



















