१ साउन, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबिच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ९सिंहदरबार० मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबिच अन्तिम चरणको निर्णायक वार्ता जारी छ ।
यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबिच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको हो।
सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् ।
वार्ता टोलीमा को–को छन् ?
टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा रहेका छन् ।
पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी रहेका छन् ।



















