१ साउन,वीरगञ्ज । न्याय परिषद्को निर्णयअनुसार बारा जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ भने उनीहरूको स्थानमा अन्य जिल्ला अदालतबाट पाँच नयाँ न्यायाधीशको पदस्थापन गरिएको छ।
न्याय परिषद्को बिहीबार बसेको बैठकले देशभरका उच्च तथा जिल्ला अदालतमा कार्यरत २०७ जना न्यायाधीशको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। परिषद्का अनुसार ५० जना उच्च अदालत र १५७ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा गरिएको छ।
निर्णयअनुसार बारा जिल्ला अदालतबाट न्यायाधीश यज्ञप्रसाद आचार्य कास्की, सुरेशराज खनाल मोरङ, नरेन्द्रबहादुर बुढा काठमाडौं, अञ्जनराज सापकोटा काठमाडौं तथा दीक्षा प्रधानाङ्ग मकवानपुर जिल्ला अदालतमा सरुवा भएका छन्।
यस्तै, बारा जिल्ला अदालतमा भक्तपुरबाट विश्वनाथ भट्टराई, मकवानपुरबाट गीता श्रेष्ठ, जुम्लाबाट आनन्दराज पन्त, कास्कीबाट नीतिज राई तथा काठमाडौंबाट नारदप्रसाद भट्टराईको पदस्थापन गरिएको न्याय परिषद्ले जनाएको छ।
न्यायाधीशहरूको सरुवासँगै न्याय परिषद्ले श्रम अदालत, विशेष अदालत र राजस्व न्यायाधिकरणका अध्यक्ष तथा कानून सदस्यहरूको जिम्मेवारीसमेत तोकेको छ।
यसपटकको सरुवामा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीलगायत विभिन्न जिल्लाका अदालतमा कार्यरत न्यायाधीशहरू समेटिएका छन्। परिषद्को निर्णयसँगै सम्बन्धित अदालतहरूमा नयाँ जिम्मेवारी कार्यान्वयनमा आउने जनाइएको छ।



















