१ साउन चितवन । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ११ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन, सेवाप्रवाह, राजस्व संकलन, सामाजिक उत्तरदायित्व तथा खेलकुद र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनेहरूलाई नगदसहित कदरपत्र प्रदान गरिएको हो ।
नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले सम्मानित सबैलाई जनही पाँच हजार रुपैयाँ नगद तथा कदरपत्र प्रदान गरेका थिए । नगरपालिकाले उत्कृष्ट कार्यलाई प्रोत्साहन गर्दै सेवाप्रवाहमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
सम्मानित हुनेमध्ये आधारभूत स्वास्थ्य केन्द्र राधापुरमा कार्यरत स्वास्थ्यकर्मी कोपिला बोट उत्कृष्ट स्वास्थ्य सेवाका लागि सम्मानित भईन् । त्यसैगरी, लामो समयदेखि नियमित रूपमा समयमै कर तिर्दै आएका पूर्वप्रधानाध्यापक तथा ज्येष्ठ नागरिक समाज माडीका अध्यक्ष सुरेशबहादुर थापा उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका हुन् ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारी माडी प्रज्ञा प्रतिष्ठानको गठनमा सहजीकरण, सांस्कृतिक कार्यक्रम व्यवस्थापन तथा ‘एक्स्प्लोर माडी’ डिजिटल पर्यटन पोर्टल निर्माणमार्फत पुर्याएको प्राविधिक योगदानका लागि सम्मानित भए ।
भरतपुरमा सम्पन्न महिला फुटबल प्रतियोगितामा स्वर्णपदक जितेर माडीको पहिचान स्थापित गरेको बसन्तपुर युनाइटेड क्लबको महिला फुटबल टोलीलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
बसन्तपुर बजार क्षेत्रमा सरसफाइ, बजार व्यवस्थापन र सवारी पार्किङलाई व्यवस्थित बनाउन सक्रिय भूमिका खेलेको भन्दै बसन्तपुर बजार टोल विकास संस्थाका अध्यक्ष यमकुमार विश्वकर्मा सम्मानित भए ।
राजस्व संकलनतर्फ आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी रु. ३१ लाख १० हजार ८२१ रुपैयाँ २६ पैसा संकलन गरी पहिलो स्थान हासिल गरेको वडा नं. १ कार्यालयलाई उत्कृष्ट वडा कार्यालयका रूपमा सम्मान गरिएको छ।
मानव बेचबिखन नियन्त्रण, लैङ्गिक हिंसाविरुद्ध सचेतना तथा उद्धार अभियानमा योगदान पुर्याएको भन्दै आफन्त नेपाल, माडीकी प्रमुख सपना श्रेष्ठ सम्मानित भईन् ।
स्थानीय विवाद समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै दर्ता भएका १४७ विवादमध्ये १३४ वटा मेलमिलापमार्फत समाधान गराउन सफल मेलमिलाप नगर समिति संयोजक महदत्त काफ्लेलाई पनि नगरपालिकाले कदर गरेको छ।
वडा नं. ७ कार्यालयमा कर्मचारी अभावका बीच अतिरिक्त समय दिएर सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराएको भन्दै कार्यालय सहयोगी आरती रानाभाट सम्मानित भएकी हुन् ।
भू-वर्गीकरण तथा भू-उपयोग योजनाअन्तर्गत जटिल नापी कार्य समयमै सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेका अमिन सहायक कुलदेव पंगेनीलाई सम्मान गरिएको छ।
यस्तै, आन्तरिक राजस्व संकलनलाई प्रभावकारी बनाउँदै सेवाग्राहीमैत्री व्यवहार प्रदर्शन गरेको भन्दै सामाजिक परिचालक ममता चौधरी उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भईन् ।
नगरपालिकाले यस्ता सम्मान कार्यक्रमले कर्मचारी, सामाजिक संस्था तथा नागरिकमा थप जिम्मेवारीबोध र उत्कृष्ट कार्य गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।



















