५ साउन,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज बिहान ११:३० बजे छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झालगायत सहभागी हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
छलफलमा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। सोही क्रममा व्यवसायीहरूले भोगिरहेका समस्या, तिनको समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव संकलन गरिने र आवश्यक कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




















