Logo

५ साउन, काठमाडौं । काठमाडौँको बौद्ध क्षेत्रमा पारिवारिक विवादले उग्र रूप लिँदा एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् ।

मंगलबार बिहान बौद्ध गेटनजिकै आफ्नो खाजाघर पछाडिको पार्किङमा भएको यस अप्रत्याशित घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल गोकर्णेशश्वर नगरपालिका-८ माकलबारी बस्ने २७ वर्षीया सालु गुरुङले पतिसँगको झगडाका कारण आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।

बिहान करिब २ः५० बजेको समयमा भएको उक्त घटनामा श्रीमान्‌ले नै तुरुन्तै देखेपछि आगो निभाएर तत्काल उद्धार गरेका थिए । घाइते अवस्थामा उनलाई प्रारम्भिक उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल, साखु पुर्‍याइएको थियो भने त्यहाँ सामान्य उपचारपछि थप र विशेष उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको अनुहार, छाती र दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको छ भने अहिले उनको बोल्न सक्ने सामान्य अवस्था रहेको छ ।

घरेलु विवाद र आवेशमा आएर चालिएको यस किसिमको गम्भीर कदमले मानवीय क्षति निम्त्याउने खतरा बढाएको छ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाइरहेको छ ।

परिवारभित्रका आपसी मनमुटाव र तनावलाई समयमै संवादमार्फत समाधान गर्न नसक्दा कतिपय अवस्थामा कसरी त्रासद परिणाम आउन सक्छ भन्ने यो घटनाले फेरि एकपटक गम्भीर प्रश्न उब्जाएको छ ।


सम्बन्धित समाचार