Logo

५ साउन चितवन । नारायणी नदीमाथिको पुलबाट एक व्यक्तिले नदीमा हाम्फालेका छन्। गैँडाकोट नगरपालिका–१ निवासी अन्दाजी ४० वर्षीय सन्तोष रानाभाटले सोमबार बिहान करिब ७ बजे पुलबाट नदीमा हाम्फालेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार रानाभाटले प्रयोग गरेको लेडिज साइकल पुलमै छाडिएको अवस्थामा फेला परेको छ। घटनालगत्तै वडा प्रहरी कार्यालयको विपद् व्यवस्थापन टोली तथा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरी नारायणी नदीमा खोजी कार्य सुरु गरिएको छ।

घटनाको कारण भने खुल्न सकेको छैन। नदीमा बेपत्ता भएका रानाभाटको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुखले जानकारी दिनुभयो।

पछिल्लो समय नारायणी पुलबाट नदीमा हाम्फाल्ने घटना दोहोरिन थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। केही दिनयता यस्ता घटना बढ्दै गएको भन्दै पुल क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन तथा जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग पुग्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ।

सरोकारवालाहरूले आत्महत्याजस्ता संवेदनशील घटनालाई केवल सुरक्षा चुनौतीका रूपमा मात्र नभई मानसिक स्वास्थ्यसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।

समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, परामर्श सेवा र समयमै सहयोग उपलब्ध गराउन सके यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।प्रहरीले घटनासम्बन्धी थप जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार