१२ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभर चिकित्सकको आन्दोलन जारी रहेकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक र संवेदनशील क्षेत्र भएकाले आन्दोलनका कारण बिरामीको उपचार प्रभावित हुन नहुने स्पष्ट गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले चिकित्सकका मागप्रति सरकार गम्भीर रहेको र समस्याको समाधानका लागि निरन्तर संवाद तथा समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्री, मन्त्रालयका अधिकारी, स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच छलफल जारी छ भने घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
यता नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई कडा कारबाही नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएको छ । संघको आह्वानअनुसार देशका अधिकांश स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा प्रभावित भएका छन् भने नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिँदै आकस्मिक सेवा समेत बन्द गरेका छन् । आन्दोलनको आगामी रणनीति तय गर्न संघले पदाधिकारीको बैठक समेत बोलाएको जनाएको छ ।




















