१७ जेठ, काठमाडौंं । राष्ट्रिय सभाको आजको बैठक विशेष र महत्त्वपूर्ण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बिहान सवा ११ बजेका लागि निर्धारित बैठक ढिलो गरी सुरु भए पनि शून्य समयमा सांसदहरूका धारणा सुनेलगत्तै सभाध्यक्ष नारायण दाहालले बैठक स्थगनको घोषणा गरेका हुन् । आजको बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको थियो ।
आजको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई पारित गराउने कार्यक्रम थियो । त्यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि आजै पारित गर्ने कार्यसूची तय गरिएको थियो । तर, दलहरूबीच ती विधेयकमा परेका संशोधनका सम्बन्धमा मतैक्य नभएपछि सहमति जुटाउन समय लिइएको छ ।
स्रोतका अनुसार, यी दुवै विधेयकमा परेका तीन-तीनवटा संशोधनमा सरकार र प्रतिपक्षी दलहरूबीच विवाद कायमै छ । सहमति खोज्ने उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विभिन्न दलका प्रतिनिधिहरूसँग वार्ता गरिरहेकी छिन् ।
विधेयकहरूलाई सर्वसम्मत रूपमा अघि बढाउने प्रयासमा बैठक २० मिनेटका लागि स्थगित गरिएको भए पनि, दलहरूबीचको संवाद लम्बिँदा प्रक्रिया प्रभावित भएको छ। सहमति जुटेपछि मात्र बैठक पुनः सुचारु हुने र विधेयकहरूमाथिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।




















