Logo

१९ जेठ, काठमाडौँ । रुसले सोमबार राति युक्रेनका विभिन्न सहरलाई लक्षित गरी भीषण हवाई आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी कम्तीमा ५ जनाको ज्यान गएको छ भने ४५ जनाभन्दा बढी घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, डिनिप्रो सहरमा मात्रै ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । त्यस्तै, राजधानी किएभमा एक जनाले ज्यान गुमाएका छन् र २९ जना घाइते अवस्थामा छन् ।

गत महिना युक्रेनले रुसी नियन्त्रणमा रहेको एक होस्टेलमा ड्रोन आक्रमण गरी २१ जनाको ज्यान लिएपछि रुसले युक्रेनमाथि निरन्तर हमला गर्ने चेतावनी दिएको थियो । सोही चेतावनीका आधारमा पछिल्लो पटक भीषण आक्रमण गरिएको बताइएको छ ।

किएभका सैन्य प्रशासन प्रमुख तैमुर तकाचेन्कोका अनुसार रुसी सेनाले ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गरिरहेको छ । किएभका मेयर भिटाली क्लिट्स्कोले नागरिकहरूलाई सुरक्षित स्थान वा आश्रयस्थलमै रहन सार्वजनिक अपिल गरेका छन् । युद्ध थप चर्किने संकेतसँगै युक्रेनका सहरहरूमा त्रासको वातावरण सिर्जना भएको छ ।


सम्बन्धित समाचार