१९ जेठ, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट महत्त्वपूर्ण प्रशासनिक तथा नीतिगत निर्णयहरू गरेको छ ।
गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोख्रेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ । लामो समयदेखि रिक्त रहेको एआईजी पदमा पोख्रेलको बढुवासँगै सुरक्षा निकायको उच्च तहमा थप सक्रियता देखिएको छ ।
त्यसैगरी, भूमि व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरकारले ‘भूमि समस्या समाधान समिति’लाई पूर्णता दिएको छ । समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठ नियुक्त भएका छन् । समितिको पूर्णताले लामो समयदेखि अल्झिएका भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा गति मिल्ने अपेक्षा गरिएको छ ।
बैठकले वातावरण संरक्षणको क्षेत्रमा पनि एक महत्त्वपूर्ण निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण गर्ने ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयन सम्बन्धी सम्झौतालाई सरकारले स्वीकृत प्रदान गरेको छ । यसले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपाललाई थप बल पुर्याउनेछ ।
साथै, सुरक्षा र अनुसन्धानको पाटोलाई सम्बोधन गर्दै सरकारले संवत् २०८२ भदौमा भएको प्रदर्शनका घटनाबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप गरेको छ ।
उक्त प्रतिवेदनमा औँल्याइएका सुरक्षा संयन्त्रको भूमिकाबारे गहन अध्ययन गरी थप सिफारिस गर्न मन्त्रिपरिषद्ले समितिलाई थप समय दिएको हो । यी निर्णयहरूले सुरक्षा, भूमि प्रशासन र वातावरणीय दायित्वमा सरकारको पछिल्लो प्राथमिकतालाई प्रस्ट पारेका छन् ।




















