१९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हालै संसद्मा दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला सरकारले त्यसको बचाउ गरेको छ ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले संसद्मा बोलेको विषय नै सत्य भएको भन्दै आफ्नो अडान कायम राखेका छन् ।
प्रधानमन्त्रीको उक्त भनाइले संसद्मा उत्पन्न गरेको तरंगबारे बोल्दै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति पूर्ण उत्तरदायी हुनुहुन्छ, आवश्यक परे उहाँ फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिन तयार हुनुहुन्छ ।’ प्रधानमन्त्री शाहले नेपाल र भारत दुवैतर्फ सीमाका केही क्षेत्रमा एक–अर्काको जमिन परेको हुन सक्ने विषयमा आफ्ना धारणा राखेको र त्यो कूटनीतिक संयन्त्रबाट प्राप्त जानकारीमा आधारित भएको प्रवक्ता पोखरेलको जिकिर छ ।
सीमा विवादको विषय दुई देशबीचका स्थापित कूटनीतिक संयन्त्रमार्फत हल गरिने बताउँदै प्रवक्ता पोखरेलले नेपाल र भारत दुवै पक्षबाट ‘डिप्लोमेटिक नोट’ आदानप्रदान भइरहेको जानकारी दिए। ‘सीमालगायतका विषय कूटनीतिक संवाद र संयन्त्रबाटै सल्टाउने हो, प्रधानमन्त्रीले पनि यही कुरा जोड दिएर भन्नुभएको हो,’ उनले थपे ।
प्रधानमन्त्रीको अभिव्यक्तिमाथि भइरहेको राजनीतिक र सामाजिक आलोचनाका बीच सरकारले त्यसलाई सामान्य र सत्यको पक्षमा भएको दाबी गर्दै आफ्नो बचाउ गरेको छ ।




















