Logo

१९ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरेको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

संसद्को वेलमा पुगेर विपक्षी सांसदहरूले चर्को नाराबाजी र विरोध प्रदर्शन गरेपछि सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्न नसक्ने अवस्था देखिएकाले बैठक आगामी २५ गतेसम्मका लागि स्थगित गरेका हुन्।

संसद्को अवरोध हटाउन सत्तारुढ दल र विपक्षी दलका सचेतकहरूबीच सिंहदरबारमा लामो समय वार्ता चले पनि कुनै निष्कर्ष निस्कन सकेन। विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र आफ्ना भनाइबारे संसद्मा स्पष्टीकरण दिँदै गल्ती स्वीकार्नुपर्ने अडान दोहोर्‍याउँदै आएका छन् । तर, सरकार र सत्तारुढ दलले विपक्षीको माग सम्बोधन गर्ने विषयमा लचकता नदेखाएपछि बैठक पुनः अवरुद्ध भएको हो ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोधमा प्रमुख प्रतिपक्षसहितका दलहरू एकढिक्का भएर उभिएपछि संसद्को वातावरण तनाबपूर्ण बनेको छ । बजेट अधिवेशनको महत्वपूर्ण समयमा संसद्को काम कारबाही प्रभावित हुँदा बजेटमाथिको छलफल समेत ओझेलमा परेको छ। सभामुखले बैठक स्थगित गरेसँगै अब संसद्को गतिरोध अन्त्य गर्न र दलहरूबीच सहमति जुटाउन थप कसरत आवश्यक देखिएको छ ।


सम्बन्धित समाचार