Logo

१९ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखालको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

सोमबार दिउँसो घाँसदाउराका लागि भन्दै राप्ती नदी किनारतर्फ गएका चोखाल साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी कार्य सुरु गरेका थिए । मङ्गलबार बिहान नदी किनारमा उनको क्षतविक्षत अवस्थामा शव फेला परेको हो ।

घटनाको पुष्टि गर्दै भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले नदी किनारमा खोजी गर्ने क्रममा गोहीको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव भेटिएको जानकारी दिए । सामान्य खेतीपाती र मजदुरी गरी जीविकोपार्जन गर्दै आएका चोखालको असामयिक निधनले स्थानीय शोकमा डुबेका छन्। मृतकको शव पोस्टमार्टमका लागि अहिले भरतपुर अस्पताल लगिएको छ ।

राप्ती नदी किनारमा घाँसदाउरा गर्न जाने क्रममा गोहीको आक्रमणमा परी पटक–पटक स्थानीयले ज्यान गुमाउनुपरेकाले नदी आसपासका बासिन्दा थप त्रसित बनेका छन् ।


सम्बन्धित समाचार