१९ जेठ, (माडी) चितवन । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफएमका स्टेशन म्यानेजर तथा सक्रिय पत्रकार दिप्ती विश्वकर्मा “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार”बाट सम्मानित हुनुभएको छ।
राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको उक्त पुरस्कारबाट दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेर निरन्तर पत्रकारिता गर्दै आएकी विश्वकर्मालाई सम्मान गरिएको हो। सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजित संघको महाधिवेशन उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो।
पत्रकारितामार्फत ग्रामीण समुदायका आवाज, स्थानीय सरोकारका विषय, सामाजिक न्याय, समावेशिता तथा दुर्गम क्षेत्रका समस्यालाई प्रभावकारी रूपमा उजागर गर्दै आएको योगदानको कदरस्वरूप विश्वकर्मालाई उक्त सम्मान प्रदान गरिएको राष्ट्रिय दलित पत्रकार संघले जनाएको छ। माडी क्षेत्रबाट लामो समयदेखि सक्रिय पत्रकारितामा संलग्न रहँदै उहाँले स्थानीय तहका विकास, शिक्षा, स्वास्थ्य, सामाजिक रूपान्तरण तथा सीमान्तकृत समुदायका मुद्दाहरूलाई निरन्तर सञ्चारमाध्यममार्फत उठाउँदै आउनुभएको छ।
राष्ट्रिय दलित पत्रकार महासंघका रुकुमपूर्व जिल्ला अध्यक्षसमेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको पहिलो प्राप्तकर्ता बन्ने अवसर विश्वकर्माले प्राप्त गर्नुभएको हो। ग्रामीण पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पहिलो पटक प्रदान गरिएको यो सम्मानलाई पत्रकारिता क्षेत्रकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सम्मान ग्रहणपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै विश्वकर्माले यो सम्मानले आफूलाई अझ जिम्मेवार, निष्पक्ष र जनउत्तरदायी पत्रकारितामा समर्पित भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो। “ग्रामीण क्षेत्रका नागरिकका आवाज र सरोकारलाई सञ्चारमाध्यममार्फत उजागर गर्ने मेरो प्रयासलाई राष्ट्रिय स्तरमा मूल्यांकन गरिनु गौरवको विषय हो। यस सम्मानले आगामी दिनमा अझ जिम्मेवारीका साथ पत्रकारितामा लागिरहन प्रेरणा दिएको छ,” उहाँले भन्नुभयो।
माडी क्षेत्रमै सक्रिय रूपमा पत्रकारितामा आबद्ध रहँदै स्थानीय समुदायका समस्या, सम्भावना, विकासका मुद्दा तथा आम नागरिकका आवाजलाई निरन्तर उठाउँदै आउनुभएका विश्वकर्माको सम्मानलाई माडी क्षेत्रको पत्रकारिता जगत्को समेत गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय स्तरबाट पत्रकारिता गर्दै राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्न सफल हुनुभएकोमा विभिन्न सञ्चारकर्मी, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।




















