Logo

२२ जेठ, काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करको निमन्त्रणामा शुक्रबार तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

२२ देखि २४ जेठसम्म हुने यो भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै दुई देशबीचको पारस्परिक हितका विविध पक्षमा विचार–विमर्श गर्नुहुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले देशका प्राथमिकताका विषयहरूका साथै हाल चर्चामा रहेका सबै मुद्दाहरूमा खुला संवाद हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका अनुसार यस भ्रमणमा विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र दुई देशका जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने कार्यसूची रहेको छ ।

नियमित उच्चस्तरीय भ्रमणको शृङ्खलाअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । मन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता हुने कार्यक्रम छ।


सम्बन्धित समाचार