Logo

२३ जेठ,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज र भोलि देशभर जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ। केन्द्रीय समितिको निर्णयअनुसार आज ३६ र भोलि २९ जिल्लामा अधिवेशन हुन लागेको पार्टीले जनाएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा र सुनसरी जिल्लामा अधिवेशन हुँदैछ। मधेश प्रदेशका महोत्तरी र रौतहट तथा बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा पनि अधिवेशन आयोजना गरिएको छ।

त्यसैगरी गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पामा अधिवेशन हुँदैछ। कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा पनि आजै जिल्ला अधिवेशन हुने कार्यक्रम छ।

महामन्त्री बुर्लाकोटीका अनुसार भोलि कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका सिरहा, धनुषा, पर्सा र सर्लाही तथा बागमती प्रदेशका चितवन र ललितपुरमा अधिवेशन आयोजना गरिनेछ।

यस्तै गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि भोलि अधिवेशन तय गरिएको छ।

बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि निर्धारित गरिएको रास्वपाले जनाएको छ।

पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। बाँकी ११ जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि गरिने बताइएको छ।

जिल्ला अधिवेशन सम्पन्न भएपछि जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुनेछन्। पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट प्रारम्भ हुने रास्वपाले जनाएको छ।


सम्बन्धित समाचार