२३ जेठ,वीरगञ्ज । मधेशी युवाहरूको एक समूहले ‘हुँकार मधेश’ नामक नयाँ अभियान सुरु गरेको छ। मधेश केन्द्रित राजनीतिक दलहरूको प्रभाव कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरूले साझा अभियानको रूपमा यस पहललाई अघि बढाएका हुन्।
अभियानमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टीका साथै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सक्रिय युवाहरूको सहभागिता रहेको बताइएको छ। अभियानलाई मधेशको अधिकार, पहिचान र राजनीतिक पुनर्जागरणको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
जसपा नेपाल परित्याग गरेका नेता रामकुमार शर्माका अनुसार जेनजी आन्दोलनपछि परिवर्तनको पक्षमा उभिएका युवाहरूको सक्रियताबाट ‘हुँकार मधेश’ अभियानको जन्म भएको हो। उनले अभियान कुनै एक राजनीतिक दलको नभई मधेशको भविष्य, अधिकार र राजनीतिक दिशाबारे बहस चलाउने साझा पहल भएको बताए।
अभियानको आन्तरिक तयारी तीव्र गतिमा भइरहेको र प्रारम्भिक चरणका बैठकहरू सम्पन्न भइसकेको जनाइएको छ। रणनीतिक दस्तावेजहरू तयार पारिए पनि औपचारिक सार्वजनिक घोषणासम्म विस्तृत योजना गोप्य राखिएको अभियानका अभियन्ताहरूले बताएका छन्।
‘हुँकार मधेश’ले अधिकार, पहिचान, संघर्ष, जागरण र परिवर्तनलाई आफ्नो मूल उद्देश्यका रूपमा अघि सारेको छ। अभियानसँग आबद्ध युवाहरूले मधेशका मुद्दालाई नयाँ ढंगले उठाउने तथा जनस्तरमा राजनीतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको बताएका छन्।
तराई–मधेशका २२ जिल्लालाई समेट्ने गरी दुई प्रदेशको अवधारणालाई समेत अभियानले आफ्नो प्रमुख राजनीतिक एजेन्डामध्ये एक बनाउने संकेत दिएको छ। अभियानको नेतृत्व युवा पुस्ताले नै गर्ने र प्रारम्भिक तीनदेखि चार महिनासम्म मधेशसहित देशका विभिन्न स्थानमा जनसम्पर्क तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अभियानसँग सम्बद्ध नेताहरूका अनुसार प्राप्त सुझाव, प्रतिक्रिया र जनमतका आधारमा आगामी रणनीति तय गरिनेछ। दीर्घकालीन रूपमा नयाँ राजनीतिक शक्ति निर्माणको सम्भावना रहे पनि तत्काल पार्टी गठनभन्दा जनमत निर्माण र नागरिकसँग संवादलाई प्राथमिकता दिइने अभियानको भनाइ छ।

















