Logo

२३ जेठ,काठमाडौं । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि त्यससम्बन्धी छानबिनका लागि गठित सरकारी टोली मुस्ताङ पुगेको छ।

अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गत मूल्यांकन शाखाका प्रमुखसमेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो टोली हिजो बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको हो।

भन्सार कार्यालय मुस्ताङका प्रमुख विदुर चुडालका अनुसार छानबिन टोली आज कोरला नाका पुग्ने कार्यक्रम छ। टोलीले मुस्ताङ पुग्नुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीहरूको पनि अनुगमन गरेको बताइएको छ।

चीनबाट नेपाल भित्रिएका ती विद्युतीय गाडीहरूको आयात प्रक्रिया, कागजात तथा भन्सार मूल्यांकनमा कैफियत रहेको वा नरहेको विषयमा छानबिन केन्द्रित गरिएको छ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको थियो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताइएको छ।


सम्बन्धित समाचार