Logo

२३ जेठ,वीरगञ्ज ।  मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग मतभेद बढेपछि रौतहट र बाराका प्रहरी प्रमुखलाई एकैसाथ स्पष्टीकरण सोधिएको छ। यसअघि सोही विवादका कारण सप्तरी र धनुषाका प्रहरी प्रमुखले स्वेच्छिक सरुवा मागेर कार्यक्षेत्र परिवर्तन गरिसकेका थिए।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र चन्दलाई गत बिहीबार स्पष्टीकरण सोधेको हो। बारा एसपी चन्दले आफूलाई स्पष्टीकरण सोधिएको पुष्टि गर्दै कारणबारे विस्तृत विवरण खुलाउन चाहेनन्।

उनले भने, ‘यो हाम्रो आन्तरिक विषय हो, डीआईजी सा’बलाई कुनै काम चित्त नबुझेको हुन सक्छ, मैले आवश्यक जवाफ पठाइसकेको छु।’

रौतहटका एसपी रिजालसँग भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार बारा र रौतहटमा पछिल्लो समय तस्करी नियन्त्रण अभियान तीव्र पारिएको थियो। सीमावर्ती जिल्लामा अवैध कारोबार नियन्त्रणका लागि जिल्ला प्रहरी सक्रिय भएपछि प्रदेश प्रहरी नेतृत्वसँग असहमति बढेको दाबी गरिएको छ।

एक वरिष्ठ प्रहरी अधिकृतका अनुसार केही जिल्लामा ‘लाइन मिलाउने’ तथा तस्करीसँग जोडिएका गतिविधिमा कडाइ गर्दा जिल्ला प्रहरी प्रमुख र प्रदेश स्तरका केही निकायबीच विवाद चर्किएको हो।

यसअघि पनि सप्तरीका एसपी गौतमकुमार केसी र धनुषाका एसपी रुगम बहादुर कुँवरले प्रदेश प्रहरीसँगको मतभेदपछि सरुवा मागेका थिए। उनीहरू पछि अन्य जिल्लामा सरुवा भइसकेका छन्।

धनुषामा कार्यरत रहँदा कुँवरमाथि व्यापारीसँग आर्थिक लेनदेन र ‘सलामी दस्तुर’ सम्बन्धी आरोपसमेत सार्वजनिक भएका थिए। सो विषयमा प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरेको भए पनि प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।

त्यस्तै, डीआईजी थपलियासँग जोडिएका केही ‘घुमुवा’ प्रहरीहरू हेडक्वार्टर तानिएको तथा केही अनुसन्धान शाखाका अधिकृतहरू पनि सरुवा भएको स्रोतले जनाएको छ।

यता, मधेश प्रदेश प्रहरी कार्यालयले भने स्पष्टीकरण माग गर्नु नियमित प्रशासनिक प्रक्रिया भएको दाबी गर्दै कार्यसम्पादन मूल्यांकनका आधारमा आवश्यक कारबाही गरिएको जनाएको छ।

तर लगातार जिल्ला प्रहरी प्रमुखहरूको सरुवा माग, स्पष्टीकरण र आन्तरिक विवाद सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी नेतृत्व र फिल्ड कमाण्डबीचको सम्बन्धबारे गम्भीर प्रश्न उठेको छ।


सम्बन्धित समाचार