Logo

२७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको पहिलो अधिवेशन अन्ततः निर्वाचन प्रक्रिया नै स्थगित गर्दै टुंगिएको छ ।

मतदाता नामावलीमा देखिएको गम्भीर विवाद र आन्तरिक व्यवस्थापकीय कमजोरीका कारण निर्वाचन समितिले हालका लागि सम्पूर्ण निर्वाचन कार्यक्रम रोक्ने निर्णय गरेको हो । निर्वाचन समिति संयोजक सुमित्रा पण्डितका अनुसार २४ घण्टाभित्र अर्को सूचना जारी गरिने बताइए पनि अधिवेशन स्थल भने सुनसान बनेको छ ।

निर्वाचन प्रक्रिया सुरुदेखि नै विवादित बनेको थियो। समितिले मंगलबार हतारमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेको थियो, जसको चौतर्फी विरोध भएको थियो । मतदाता नामावलीमा प्रश्न उठ्दाउठ्दै पनि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाउने समितिको निर्णयले विवादलाई झनै उत्कर्षमा पुर्‍याएको थियो। अधिवेशनको यो लथालिङ्ग अवस्थाले गर्दा नेतृत्व चयनको प्रक्रिया अन्योलमा परेको छ ।

अवस्था यतिसम्म भयावह बन्यो कि, अन्ततः प्रहरीले नै हस्तक्षेप गरी अधिवेशन स्थल खाली गराएको छ । ‘नेताहरू नै यहाँ छैनन्, अब जानुस्, भन्दै प्रहरीले प्रतिनिधिहरूलाई बाहिर पठाएपछि रास्वपाको बागमती प्रदेशको यो भेलाले असफलताको झल्को दिएको छ ।

नयाँ राजनीतिक संस्कृतिको वकालत गर्ने पार्टीको आन्तरिक निर्वाचनमा देखिएको यो भद्रगोलले पार्टीको सांगठनिक सुदृढीकरण र व्यवस्थापन क्षमतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।


सम्बन्धित समाचार