२७ जेठ, काठमाडौं । विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयहरूलाई कडा निर्देशन जारी गरेको छ ।
विद्यार्थीको नाम, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता संवेदनशील विवरणहरू अभिभावकको पूर्वस्वीकृतिबिना अनाधिकृत व्यक्ति वा शैक्षिक परामर्शदाता, ट्युसन सेन्टर तथा व्यापारिक संस्थाहरूलाई उपलब्ध गराउने प्रवृत्ति बढेपछि केन्द्रले यस्तो कदम चालेको हो ।
केन्द्रले जेठ २६ गते जारी गरेको परिपत्रमार्फत विद्यालयहरूलाई विद्यार्थीको गोपनियताको अधिकारप्रति संवेदनशील बन्न सचेत गराएको छ । विद्यालयहरूले विद्यार्थीको विवरण व्यापारिक स्वार्थका लागि प्रयोग गर्दा बालबालिकाहरूमाथि अनावश्यक मानसिक दबाब परेको र सुरक्षा जोखिम बढेको गुनासाहरू केन्द्रमा प्राप्त भएका थिए ।
यसैलाई सम्बोधन गर्दै केन्द्रका निर्देशक नीलकण्ठ ढकालद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ, ‘विद्यार्थीको शैक्षिक वातावरण र गोपनीयता सुरक्षित राख्न यस्ता अनधिकृत गतिविधि तत्काल रोक्नुपर्नेछ।’
केन्द्रले यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई समेत अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको छ । विद्यालयहरूले अबदेखि विद्यार्थीको व्यक्तिगत सूचना चुहावट नगर्न र आफ्नो शैक्षिक परिसरभित्र यस्ता गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने भएको छ ।
यो निर्देशनले विद्यार्थीको सुरक्षा र गोपनीयताको अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

















