Logo

२७ जेठ, काठमाडौँ । सम्पत्ति छानबिन आयोगले पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउने अन्तिम अवसर दिएको छ ।

निर्धारित समयसीमाभित्र विवरण नबुझाउनेहरूको संख्या बढी देखिएपछि आयोगले म्याद थप गर्दै असार मसान्तसम्मको समय दिएको हो । अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार, कतिपय सम्बन्धित व्यक्तिहरू विदेशमा रहनु र केहीले कागजात संकलनमा कठिनाइ भएको गुनासो गरेपछि आयोगले सहजताका लागि म्याद थप गर्ने निर्णय लिएको हो ।

यसअघि आयोगले जेठ १ गते सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीहरूलाई जेठ मसान्तभित्र विवरण बुझाउन निर्देशन दिएको थियो । तर, उक्त म्याद सकिन केही दिन मात्र बाँकी रहँदा हालसम्म करिब ३ हजार ५०० जनाले मात्र विवरण बुझाएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिए। तोकिएको समयसीमामा न्यून सहभागिता देखिएपछि आयोगले अन्तिम पटकका लागि यो मौका प्रदान गरेको हो ।

आयोगले अब थपिएको समयभित्र विवरण संकलन कार्यलाई तीव्रता दिने र प्राप्त विवरणहरूको छानबिन तथा जाँचबुझ प्रक्रियालाई पनि सँगसँगै अघि बढाउने तयारी गरेको छ ।

यो म्याद थपसँगै सम्पत्ति विवरण बुझाउन बाँकी रहेका पदाधिकारीहरूलाई प्रक्रिया पूरा गर्न आयोगले पुनः आग्रह गरेको छ । तोकिएको समयावधिभित्र विवरण बुझाएर कानुनी दायित्व पूरा गर्न आयोगले सम्बन्धित सबैलाई सचेत गराएको छ ।


सम्बन्धित समाचार
भर्खरै