Logo

२७ जेठ,काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने नयाँ कीर्तिमान कायम गरेका छन्। सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको पद सम्हालेका मोदीले बुधबार ४ हजार ३९९ दिनको निर्वाचित कार्यकाल पूरा गर्दै पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको रेकर्ड तोडेका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसअघि सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहने कीर्तिमान जवाहरलाल नेहरूको नाममा थियो। नेहरूले सन् १९५२ को पहिलो आमनिर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीका रूपमा मे १३, १९५२ देखि मे २७, १९६४ सम्म लगातार ४ हजार ३९८ दिन सरकारको नेतृत्व गरेका थिए।

भारत स्वतन्त्र भएपछि सन् १९४७ अगस्ट १५ मा नेहरू प्रधानमन्त्री नियुक्त भएका थिए। उनले सन् १९५२ सम्म नियुक्त प्रधानमन्त्रीका रूपमा सेवा गरेपछि पहिलो आमनिर्वाचनबाट निर्वाचित प्रधानमन्त्री बनेका थिए।

मोदी हाल प्रधानमन्त्रीका रूपमा आफ्नो लगातार तेस्रो कार्यकालमा छन्। सन् २०१४, २०१९ र २०२४ का आमनिर्वाचनमा विजय हासिल गर्दै उनले लगातार तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेका छन्।

कीर्तिमान कायम गरेपछि मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया व्यक्त गर्दै सार्वजनिक सेवा सुशासनको सबैभन्दा ठूलो परीक्षा भएको बताएका छन्। उनले नम्रता, समर्पण र प्रतिबद्धताका साथ निरन्तर काम गर्ने व्यक्तिले मात्र जनताको विश्वास जित्न सक्ने उल्लेख गरेका छन्।

यसैबीच, आफ्नो नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) सरकारको १२ वर्ष पूरा भएको अवसरमा पनि मोदीले विशेष सन्देश दिएका छन्। उनले ‘सबका साथ, सबका विकास’ को भावनाअनुसार विगत १२ वर्षदेखि राष्ट्र निर्माणका लागि निरन्तर काम भइरहेको उल्लेख गर्दै भारतलाई थप बलियो र आत्मनिर्भर राष्ट्र बनाउने अभियान जारी रहने बताएका छन्।

मोदीले नेहरूको कीर्तिमान उछिन्दै कायम गरेको यो उपलब्धिलाई भारतीय राजनीतिक इतिहासको महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार
भर्खरै