Logo

२७ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूका लागि पछिल्लो समय निकै कष्टकर बनेको छ ।

वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको अवधिमा मात्रै झण्डै १३ सय नेपालीले रोजगारीको सिलसिलामा ज्यान गुमाएका छन् । साउन १ गतेदेखि वैशाख मसान्तसम्मको अवधिमा एक हजार २९४ जना नेपालीको मृत्यु भएको हो। विशेषगरी वैशाख महिनामा मात्रै १५३ जनाको मृत्यु हुनुले यो अवस्थाको गम्भीरतालाई अझ उजागर गरेको छ ।

बोर्डको आधिकारिक विवरणले विगत दशकभन्दा लामो समयको कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ । विगत १० वर्ष १० महिनाको अन्तरालमा मात्र ११ हजार ९८८ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा आफ्नो प्राण त्यागिसकेका छन् ।

तथ्याङ्कलाई केलाउँदा पछिल्ला वर्षहरूमा मृतकको संख्या बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ६६१ जनामा सीमित मृतकको संख्या त्यसपछिका वर्षहरूमा हजारको आँकडा पार गर्दै उच्च बिन्दुमा पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा त यो संख्या बढेर एक हजार ५८३ सम्म पुगेको बोर्डको अभिलेखले देखाउँछ ।

दैनिकजसो विदेशिने युवाहरू बाकसमा फर्कनुपर्ने बाध्यात्मक अवस्थाले मुलुकको अर्थतन्त्रको मुख्य आधार मानिने विप्रेषण ९रेमिट्यान्स० पछाडिको मानव मूल्य कति महँगो छ भन्ने प्रश्न खडा गरेको छ ।

रोजगारीको खोजीमा रहरले भन्दा बढी बाध्यताले विदेशिएका श्रमिकहरूको सुरक्षा र स्वास्थ्यको विषयलाई लिएर सरकारी संयन्त्रको प्रभावकारितामाथि समेत पटक–पटक प्रश्न उठ्ने गरेको छ ।

तथ्याङ्कमा देखिएको यो निरन्तरको वृद्धिले वैदेशिक रोजगारीको जोखिम न्यूनीकरण गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै