२७ जेठ,वीरगञ्ज । सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा पर्साका सञ्चारकर्मीहरूले सरकार निरंकुशतातर्फ अग्रसर भएको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघको आह्वानमा जिल्ला प्रशासन कार्यालय पर्साअगाडि आयोजित एक घण्टे धर्ना कार्यक्रमपछि सञ्चारकर्मीहरूले सरकारको हालको नीति प्रेस स्वतन्त्रताविरुद्ध रहेको टिप्पणी गरेका हुन्। बिहान ११ बजेदेखि १२ बजेसम्म भएको धर्नामा पत्रकारहरूले प्रेस स्वतन्त्रता, समान व्यवहार र सञ्चारमाध्यमको अधिकार सुनिश्चित गर्न माग गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णयविरुद्ध आन्दोलन जारी रहने बताए। उनले सरकार निर्णय सच्याउन तयार नभएसम्म संघर्ष जारी रहने चेतावनी दिए। “स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध पत्रकार समुदाय एकजुट भएर उभिन्छ,” उनले भने।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार निरंकुश बन्न खोजेको आरोप लगाए। उनले २०६० सालमा तत्कालीन राजाले मिडियालाई पहिलो निशाना बनाएको स्मरण गर्दै अहिलेको सरकारले पनि त्यही प्रवृत्ति दोहोर्याउन खोजेको टिप्पणी गरे। “यो सरकारको स्वेच्छाचारी र निरंकुशताको अभ्यास हो, तर मिडियाले सरकारलाई निरंकुश बन्न दिँदैन,” उनले भने।
उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र संस्थागत हुन नसक्ने भन्दै पूर्ण लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको स्पष्ट पारे।
धर्नामा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारी पर्सा अध्यक्ष निरन्जन मिश्र, समाजवादी प्रेस संगठन मधेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भुकुमार सुमनलगायत सञ्चारकर्मी तथा मिडिया सञ्चालकहरूको सहभागिता रहेको थियो।
धर्नामा सहभागीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएकाले त्यसमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन्।

















