२९ जेठ,काठमाडौं । मन्त्रिपरिषद्को हालै बसेको बैठकले संविधान संशोधनको महत्त्वपूर्ण पाटो मानिएको कार्यदललाई थप गृहकार्य गर्ने समय दिएको छ ।
सरकारले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार पार्न गठन गरेको कार्यदलको परिपक्व नतिजा आओस् भन्ने उद्देश्यले यसको समयावधि एक महिना थप गर्ने निर्णय गरेको हो ।
यो कार्यदलको यात्रा गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकबाट सुरु भएको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित यस कार्यदललाई मुलुकको मूल कानुन संशोधनका लागि गहन बहस पत्र तयार पार्ने जिम्मेवारी सुम्पिएको छ ।
संवेदनशिल र दूरगामी महत्त्वको विषय भएकाले कार्यदलले आफ्नो कामलाई पूर्णता दिन थप समय मागेको र सोही अनुसार सरकारले आगामी असार महिनाभरि काम गर्न पाउने गरी म्याद बढाएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यदललाई यो थप समय दिने औपचारिक निर्णय गरेको हो ।
यो थपिएको समयले संविधान संशोधनका विविध आयामहरूमा अझै विस्तृत छलफल गर्न र सबै पक्षको भावना समेटिएको परिष्कृत बहस पत्र तयार पार्न कार्यदललाई थप मद्दत पुग्ने विश्वास गरिएको छ।
















