२३ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसभित्रको बढ्दो गुटबन्दी र आन्तरिक कलह व्यवस्थापन गर्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले तीव्र दौडधुप सुरु गरेका छन् ।
पार्टी विभाजनको संघारमा पुगेको चर्चाका बीच सभापति थापाले बुधबार बिहान गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग निर्णायक संवाद गरेका हुन् ।
झन्डै डेढ घण्टा चलेको उक्त भेटवार्तामा नेता खड्काले पार्टीको भविष्य नेतृत्वको कार्यशैलीमा निर्भर रहेको भन्दै सभापति थापालाई कडा सुझाव दिएका छन् । ‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर जस्तो देखिने वर्तमान विभाजनकारी अवस्थाको अन्त्य गर्ने कि नगर्ने भन्ने बल अब सभापति र उपसभापतिको कोर्टमा छ,’ खड्काले भेटमा स्पष्ट पारेका छन् । उनले पार्टी एकताका लागि ‘टुक्रा-टुक्रा’ मा नभई सम्पूर्ण रूपमा हुनुपर्ने र त्यसका लागि नेतृत्वले ठोस रोडम्याप ल्याउनुपर्ने अडान राखेका छन् ।
पार्टी जोगाउने अन्तिम जिम्मेवारी
विशेष महाधिवेशनपछि दोस्रो पटक खड्का निवास पुगेका थापालाई खड्काले पार्टीलाई एकताबद्ध बनाउने वा विभाजनतर्फ लैजाने भन्ने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा रहेको स्मरण गराएका छन् । खड्काले आफू एकताका लागि तयार रहे पनि त्यसका लागि नेतृत्वको स्पष्ट रणनीति र प्रस्ताव अनिवार्य रहेको बताएका छन् ।
नेतृत्वको दौडधुप र दबाब
सभापति थापाले पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालासँगको भेटघाटलाई पनि निरन्तरता दिइरहेका छन् । एकातिर पार्टीभित्रको आन्तरिक असन्तुष्टि र अर्कोतिर आफ्नै समूहभित्रको दबाबका बीच थापाले वरिष्ठ नेताहरूलाई मनाउने प्रयास गरेका हुन् । यो भेटवार्तालाई कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउने र सम्भावित फुटलाई रोक्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ ।




















