२९, जेठ काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा आज दिउँसो भएको भीषण बस दुर्घटनाले स्तब्ध तुल्याएको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेका लागि छुटेको बा ३ ख ८३९८ नम्बरको अरनिको यातायातको बस बिपी लोकमार्गको घुम्तीबाट करिब २०० मिटर तल खस्दा ७ जना यात्रुले ज्यान गुमाएका छन् ।घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयबासीले तत्काल उद्धार सुरु गरेका थिए ।
बसमा २५ देखि ३० जना सवार रहेको अनुमान गरिएकोमा १५ जना घाइतेलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सडकबाट निकै तल भिरमा बस खसेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ ।
अहिले पनि घटनास्थलमा उद्धार टोली खटिरहेका छन् भने मृतकको पहिचान खुल्न बाँकी छ । स्थानीय प्रशासन र प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेका छन् ।
यस दुःखद घडीमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै थप विवरण संकलन भइरहेको छ।















