३१ जेठ, वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गर्दै सरकार हरेक क्षेत्रमा क्रमशः असफल बन्दै गएको दाबी गरेका छन् ।
शनिबार वीरगञ्जमा आयोजित पार्टीको मधेस प्रदेश विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई तिहाइ जनमतसहित सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको रास्वपा र यसको नेतृत्व प्रधानमन्त्री बालेन शाहसामु निरीह देखिएको गम्भीर टिप्पणी गरे ।
जनताले अभूतपूर्व मत दिएर रास्वपालाई सत्तामा पुर्याए पनि सरकार गठन भएको छोटो समयमै आम नागरिकमा निराशा चुलिएको उनको भनाइ छ । सुशासन र सदाचारको सन्दर्भमा सरकारले कुनै सकारात्मक छाप छाड्न नसकेको आरोप लगाउँदै साहले भने, “हाम्रोतिर एउटा भनाइ छ- गर्जिने बादलले बर्षात् गर्दैन ।
रास्वपाको यो सरकार पनि सुशासनका सवालमा सुरुमा ठुलो स्वरले चिच्यायो, तर अहिले सुशासन कायम गर्ने कुरा कता हरायो?” जेनजी आन्दोलनको जगमा बनेको सरकारले उल्टै सोही आन्दोलनका दमनकारी र हत्याराहरूलाई उन्मुक्ति दिएको उनको आरोप छ ।
सरकारी कार्यालयमा सेवाग्राहीको लाइन हटाउने उद्घोष गरे पनि अहिले झन् लाइन बढेको, करारका कर्मचारी हटाउने भन्दै आफैँले करारको भर्ती केन्द्र बनाएको र सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्दा पक्षपातपूर्ण व्यवहार गरिएको भन्दै साहले आक्रोश पोखे ।
यसका साथै, प्रधानमन्त्रीले शपथ ग्रहणका बेला ब्राह्मण र भिक्षु राखेर शंखनाद गरे पनि बुद्ध जयन्ती बहिष्कार गरेको र नेपाल आएका शङ्कराचार्यलाई बेवास्ता गरेको गुनासो उनले गरे । प्रधानमन्त्री आफ्नै पार्टीका सांसदको कम्पनी रहेको ‘गोल्डस्टार’ जुत्ताको निजी ब्र्यान्ड एम्बासिडरका रूपमा प्रस्तुत हुनु लज्जास्पद भएको टिप्पणी गर्दै उनले चुनावका बेला ‘वाईवाई’ लाई कांग्रेसको चाउचाउ भनेर बदनाम गर्नेहरू अहिले अर्को निजी उत्पादन प्रमोट गर्न पूर्वाग्रही बनेको बताए ।
आगामी आर्थिक वर्षको बजेटले गरिब र बेरोजगारलाई पूर्णतः बेवास्ता गरेको भन्दै पूर्वमन्त्री साहले यसले देशलाई समृद्धिको मार्गमा लैजान नसक्ने ठोकुवा गरे । बजेटले ऋण र कर मात्रै बढाएको, तर विकास बजेट घटाएको तथा उद्योग स्थापना गर्नुको साटो उल्टै उद्योग बेच्ने नीति लिएर भगौडा दलाल पुँजीपतिहरूको पक्षपोषण गरेको उनको तर्क छ ।
राष्ट्रियताको सवालमा प्रश्न उठाउँदै उनले विदेशीलाई सरकारी जागिर र वंशजको नागरिकता दिने बाटो खोलिएको, भारतसँग नेपाली भूमि फिर्ता लिनुको साटो उल्टै नेपालले भारतको जग्गा मिचेको भन्दै नेपाली पक्षलाई कमजोर बनाइएको आरोप लगाए । संसद्प्रति प्रधानमन्त्री उदासीन रहेको, जनउत्तरदायी शासन चलाउनुको साटो अदृश्य समूह र अध्यादेशमार्फत शासन चलाएको भन्दै उनले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताको हत्या गरिएको दाबी गरे ।
फरक प्रसङ्गमा अध्यक्ष साहले देशकै आर्थिक राजधानी र लाइफलाइन मानिएको वीरगञ्ज तथा सिङ्गो मधेस प्रदेशलाई वर्तमान सरकारले उपेक्षा गरेको आरोप लगाए । नयाँ सरकारले मधेसबाट भोट लिए पनि बजेटमा विभेद गरेको, मधेसलाई स्टेडियमविहीन बनाएको र डोजर आतङ्कका नाममा वीरगञ्जलाई अस्तव्यस्त पारेर मधेसको मानमर्दन गरेको उनको भनाइ छ ।
गरिब, निमुखा र सुकुम्बासीको हितमा काम गर्नुको साटो उल्टै उनीहरूको उठिबास लगाएर सामाजिक न्यायको धज्जी उडाइएको भन्दै साहले यो सरकार देश सपार्न नभई बिगार्न मात्र आएको जस्तो देखिएको टिप्पणी गरे ।
















