३१ जेठ, (माडी) चितवन । धार्मिक आस्था, पुरातात्विक महत्व र प्राकृतिक सौन्दर्यको अद्भुत संगम मानिने माडी नगरपालिका–८ स्थित बैकुण्ठधाम क्षेत्रमा संरक्षण र प्रवर्द्धनको सन्देशसहित विशेष अध्ययन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्रष्टा, पत्रकार, संस्कृतिकर्मी र सरोकारवालाहरूको सहभागितामा सम्पन्न कार्यक्रमले बैकुण्ठधामको महत्वलाई राष्ट्रिय स्तरसम्म पुर्याउने अभियानलाई थप बल दिएको छ ।
बैकुण्ठधाम क्षेत्र विकास समितिको आयोजनामा तथा माडी कला, साहित्य तथा सांस्कृतिक मञ्चको सहकार्यमा आयोजित कार्यक्रममा १८ सदस्यीय टोलीले क्षेत्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्भावनाबारे स्थलगत अध्ययन गरेको थियो। टोलीले विभिन्न धार्मिक स्थल, प्राकृतिक सम्पदा तथा पुरातात्विक अवशेषहरूको अवलोकन गर्दै संरक्षणको आवश्यकता औँल्याएको थियो ।
घना जंगल, झरना, ताल, दोभान, प्राचीन शिला तथा मूर्तिहरूले समृद्ध बैकुण्ठधाम क्षेत्रलाई धार्मिक पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त गन्तव्यका रूपमा चित्रण गरिएको छ। बैकुण्ठेश्वर मन्दिर, परशुरामढुङ्गा, धनलक्ष्मी झरना, प्राकृतिक ताल र पुराना समी चौताराहरूले यस क्षेत्रको विशिष्ट पहिचान निर्माण गरेका छन् ।
अवलोकन यात्राका क्रममा सहभागीहरूले पूजा–आराधना, भजन–कीर्तन तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरेका थिए। धार्मिक भावनासँगै प्रकृति संरक्षणको सन्देश फैलाउने उद्देश्यले टोलीले विभिन्न स्थानमा भजन गाउँदै यात्रा सम्पन्न गरेको थियो ।
धनलक्ष्मी झरनाको परिसरमा आयोजित औपचारिक कार्यक्रममा बैकुण्ठधाम व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले धार्मिक तथा प्राकृतिक पर्यटनको विकासका लागि आधारभूत पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो। केही स्थानमा सडक, गोरेटो, सिँढी र झोलुङ्गे पुल निर्माण गर्न सके पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि हुने उहाँको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा माडी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रेम बिष्टले बैकुण्ठधामको ऐतिहासिक र पुरातात्विक महत्वलाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो। पर्यटन विकासले रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

मञ्चका सचिव कृष्ण ढुङ्गानाले पहिलो पटक धनलक्ष्मी झरनासम्म पुग्दा आफू अत्यन्त प्रभावित भएको अनुभव सुनाउँदै यस क्षेत्रको संरक्षण र प्रचारमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्रकृतिले दिएको अनुपम सम्पदाको संरक्षण भावी पुस्ताप्रतिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
स्थानीय जनविश्वासअनुसार त्रेतायुगमा भगवान श्रीराम, माता सीता, लक्ष्मण र भरत वनवासका क्रममा यस क्षेत्रमा आई स्नान, ध्यान र विश्राम गरेका थिए। यही धार्मिक विश्वासका कारण बैकुण्ठधामलाई पवित्र तीर्थस्थलका रूपमा हेरिन्छ। यहाँ स्नान तथा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने र विभिन्न रोगबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।
धार्मिक महत्वसँगै यहाँ रहेका शिला, मूर्ति र अन्य पुरातात्विक अवशेषले अनुसन्धानकर्ताको ध्यान समेत तान्न थालेका छन् । धार्मिक इतिहास, लोकविश्वास र पुरातात्विक सम्भावनाको संगम बनेको बैकुण्ठधाम भविष्यमा अध्ययन तथा अनुसन्धानको महत्वपूर्ण केन्द्र बन्न सक्ने स्थानीयहरूको विश्वास छ।
योग, ध्यान र आध्यात्मिक साधनाका लागि उपयुक्त वातावरण रहेको यस क्षेत्रमा पछिल्ला वर्षहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दो क्रममा छ। विशेषगरी बाला चतुर्दशीका अवसरमा लाग्ने धार्मिक मेलाले यस क्षेत्रको पहिचानलाई थप व्यापक बनाउँदै आएको छ ।
माडी नगरपालिकाले पनि बैकुण्ठधाम क्षेत्रको संरक्षण, पर्यटन पूर्वाधार विस्तार र धार्मिक सम्पदाको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि बढाइरहेको जनाएको छ। स्थानीय समुदाय, सरोकारवाला निकाय र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउन सके बैकुण्ठधाम निकट भविष्यमा नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
















