३१ जेठ, (माडी) चितवन । चितवनको माडी नगरपालिका–८ स्थित पवित्र बैकुण्ठधाम क्षेत्रको काखमा अवस्थित धनलक्ष्मी झरना यतिबेला केवल एक प्राकृतिक पर्यटकीय गन्तव्य मात्र रहेन, बरु एउटा ‘इतिहासको रहस्यमय ढुकुटी’ का रूपमा उदाएको छ । सरसफाइको क्रममा फेला परेका ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्हले माडीको माटोमुनि कुनै प्राचीन सभ्यता लुकेको हुन सक्ने बलियो संकेत गरेका छन् ।
बैकुण्ठधाम क्षेत्र विकास समितिको अगुवाइमा माडी कला, साहित्य तथा सांस्कृतिक मञ्च, स्थानीय बासिन्दा, पत्रकार र सामाजिक अगुवाहरू जब धनलक्ष्मी झरना क्षेत्रमा सरसफाइ गर्न पुगे, तब त्यहाँको दृश्यले सबैलाई चकित बनायो ।
झाडी र माटोले छोपिएका अवस्थामा जमिनमुनि फेला परेका पाँच फिट अग्ला ढुङ्गाका खम्बाहरू कुनै प्राचीन मन्दिर वा विशाल संरचनाको अवशेष जस्तै देखिन्छन् । त्यति मात्र होइन, चक्राकार शिलाचिन्हहरूले यहाँ प्राचीन धार्मिक गतिविधि वा विशेष सभ्यताको अस्तित्व रहेको दाबीलाई थप बल पुर्याएका छन् ।
स्थानीय जनश्रुति अनुसार, यो क्षेत्र त्रेतायुगमा भगवान श्रीराम, माता सीता, लक्ष्मण र भरत वनवासका क्रममा बास बसेको स्थान हो । यही धार्मिक आस्थाका कारण बैकुण्ठधाम वर्षौंदेखि भक्तजनहरूको साझा आस्थाको केन्द्र बन्दै आएको छ ।
तर, अहिले फेला परेका यी पुरातात्विक प्रमाणहरूले जनविश्वासलाई ऐतिहासिक धरातल प्रदान गर्न सक्ने देखिन्छ । सरसफाइपछि देखिएका यी आकृतिहरूले त्रेतायुगीन कथा र प्राचीन सभ्यताबीचको सम्बन्धलाई थप गहिरो गरी अध्ययन गर्नुपर्ने माग सिर्जना गरिदिएको छ ।
पछिल्लो समय धनलक्ष्मी झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ । तर, यति महत्त्वपूर्ण पुरातात्विक संरचनाहरू संरक्षणको अभावमा खुला आकाशमुनि असुरक्षित रहनुले स्थानीयहरू चिन्तित छन् । “यी संरचनाहरूको उचित संरक्षण र वैज्ञानिक उत्खनन नहुने हो भने माडीको एउटा अमूल्य इतिहास सधैँका लागि हराउन सक्छ,” सहभागीहरूको एकमत छ ।
यदि यी संरचनाहरूको पुरातात्विक पुष्टि हुन सकेमा, बैकुण्ठधाम क्षेत्र केवल एक धार्मिक स्थल मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक सम्पदाका रूपमा स्थापित हुनेछ । स्थानीय सरोकारवालाहरूले सम्बन्धित निकायसँग अब विलम्ब नगरी विस्तृत वैज्ञानिक अनुसन्धान थाल्न जोडदार माग गरेका छन् । माडीको यो रहस्यमय खोजले अब नेपालको इतिहास र धार्मिक पर्यटनको नक्सामा कस्तो प्रभाव पार्ला, त्यो भने भविष्यले नै बताउनेछ ।














