१ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालले कुनै पनि छिमेकी मुलुकको सीमा नमिचेको स्पष्ट पारेका छन् । आइतबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमाथि छिमेकीको भूमि अतिक्रमण गरेको भनी लगाइएको आरोपको कुनै तथ्यगत आधार नरहेको दाबी गरे ।
दुई पटक परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका यादवले आफ्नो कार्यकालमा नेपालले भारत वा अन्य कुनै देशको भूमि मिचेको भन्ने विषयमा कुनै आधिकारिक जानकारी वा प्रमाण फेला नपारेको उल्लेख गरे । “नेपालले भारतको मात्र होइन, कुनै पनि देशको सीमा मिचेको छैन,” उनले भने, “परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहँदा पनि मैले त्यस्तो कुनै आधिकारिक तथ्य वा प्रमाण देखेको थिइनँ” ।
भारत सरकारले समेत अहिलेसम्म नेपालले आफ्नो भूमि मिचेको भनेर औपचारिक दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति आश्चर्यजनक र प्रमाणविहीन रहेको उनको टिप्पणी छ । सीमा जस्तो संवेदनशील विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा ऐतिहासिक दस्तावेज र नक्साको आधार चाहिने भन्दै उनले प्रधानमन्त्रीलाई आफ्नो धारणा पुष्टि गर्न चुनौती समेत दिए ।
निर्वाचन प्रणालीका सम्बन्धमा पनि अध्यक्ष यादवले आफ्नो असहमति व्यक्त गरेका छन् । निर्वाचन आयोगले प्रत्येक जिल्लाबाट एक–एक जना मात्रै प्रतिनिधि सभा सदस्य हुनुपर्ने भनी अघि सारेको अवधारणाले लोकतान्त्रिक प्रतिनिधित्वको मर्मलाई कमजोर बनाउने उनले बताए । “प्रतिनिधित्वको मुख्य आधार जनसङ्ख्या हुनुपर्छ,” उनले भने, “नागरिक सङ्ख्या र जनघनत्वलाई बेवास्ता गरेर निर्वाचन क्षेत्र निर्धारण गर्न मिल्दैन” ।
यसैगरी, संघीयतालाई प्रभावकारी बनाउन प्रदेशहरूको पुनःसंरचना आवश्यक रहेकोमा उनले जोड दिए । पहिचान र भौगोलिक आवश्यकताका आधारमा प्रदेशहरूको सीमांकन हेरफेर हुनुपर्ने उनको सुझाव छ ।
हाल प्रदेश सरकारहरू अधिकारविहीन र निकै कमजोर अवस्थामा रहेको टिप्पणी गर्दै उनले संघीयताको वास्तविक मर्म अनुसार प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्ने माग गरे । राष्ट्रिय हित, भौगोलिक अखण्डता र समावेशी प्रतिनिधित्वका लागि राजनीतिक दलहरूबीच गम्भीर बहस र सहकार्य हुनुपर्नेमा समेत उनले जोड दिए ।














