१ असार, गौर (रौतहट) । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमतिलाई लत्याउँदै एकतर्फी रूपमा बाँध बलियो र अग्लो बनाउने काम तीव्र पारेको छ । रौतहटको सदरमुकाम गौर र भारतको बिहारस्थित बैरगनिया सीमा क्षेत्रमा अवस्थित रिङ बाँधलाई मर्मत गर्ने बहानामा भारतीय पक्षले माटो थपेर यसको उचाइ र चौडाइ मनपरी ढङ्गले बढाइरहेको हो ।
सीमा रेखाको निश्चित दूरी (दशगजा) वा त्यसको नजिक दुवै देशको आपसी सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ । छिमेकी मुलुकको भूभागमा डुबान वा वातावरणीय क्षति नपुर्याउने प्रतिबद्धताविपरीत भारतले एकलौटी रूपमा संरचना विस्तार गर्दा नेपालतर्फ गम्भीर सङ्कट पैदा भएको छ ।
स्थानीय बासिन्दा एवं सरोकारवालाहरूका अनुसार भारतले आफ्नो भूमि बैरगनिया लगायतका बिहारका सहरहरूलाई जोगाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध निर्माण गरेको छ । वर्षायाममा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीको प्राकृतिक बहावलाई यो बाँधले पूर्ण रूपमा थुनिदिने गरेको छ । पानीको निकास नहुँदा बाढी ‘ब्याक’ भएर नेपाली बस्तीमा प्रत्युत्पादक बन्ने गरेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव एवं गौरवासी गौतम श्रेष्ठले जानकारी दिए ।
भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रमा रहेका बाँधका तीनवटै ढोका (सुलीसगेट) बन्द गरिदिने गरेका कारण पानी थुनिएर बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । गौर जलमग्न भएपछि नेपालीहरूले बाँध भत्काउने वा सुलीसगेट खोल्ने डरले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सशस्त्र टोली २४सै घण्टा हतियारसहित बाँधमा तैनाथ रहने गरेका छन् ।
गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले विसं २०७७ मा आफू नगरप्रमुख हुँदा गौर–२ महादेवपट्टि गाउँस्थित बकैया नदीमा तटबन्ध निर्माण गर्न लाग्दा भारतीय पक्षले कडा अवरोध सिर्जना गरेको स्मरण गरे । तर, अहिले भारतले अन्तर्राष्ट्रिय नियमको धज्जी उडाउँदै पूर्वमा वाग्मती नदीदेखि पश्चिममा बकैया नदीपारि बन्जराहा गाउँसम्मको ५ किलोमिटर क्षेत्रमा आफूखुसी बाँध बलियो बनाइरहेको उनको भनाइ छ ।
केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकालमा यसरी नै माटो थप्न खोज्दा नेपाली प्रशासन र सशस्त्र प्रहरीले कडा आपत्ति जनाएपछि भारतले काम रोकेको थियो, तर अहिले पुनः सोही कार्यलाई निरन्तरता दिइएको छ ।
यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आफ्नो भारतीय समकक्षी, बिहारको सितामाढी जिल्लाका प्रमुख (डीएम) रुचि पाण्डेसँग सीमामा भइरहेको कार्यप्रति कडा ध्यानाकर्षण गराएका छन् । प्रजिअ भुसालका अनुसार डीएम पाण्डेले यो कार्य भारतीय केन्द्रीय सरकारकै योजना र निर्देशनअनुसार मर्मत सम्भार भइरहेको जवाफ दिएकी छिन् ।
भारतको यो एकपक्षीय कदमका कारण रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी, लक्ष्मीपुर, इसनाथ नगरपालिकाको बैरिया, औरैया, बन्जरहा र सदरमुकाम गौरका ९ वटै वडा बर्सेनि टापुजस्तै जलमग्न बन्ने गरेका छन् ।
सीमा क्षेत्रको यो दीर्घकालीन समस्या समाधानका लागि विगतमा मधेस प्रदेशका मुख्यमन्त्रीहरूले समेत केन्द्रीय सरकारलाई कूटनीतिक नोट पठाएर स्थायी निकास खोज्न आग्रह गर्दै आएका छन् ।
मुख्यमन्त्रीहरूको ध्यानाकर्षणका बाबजुद केन्द्र सरकारले ठोस कूटनीतिक पहल नगर्दा यस वर्ष पनि रौतहटका दर्जनौँ गाउँ र करोडौँको बालीनाली बाढीको उच्च जोखिममा परेका छन् । – रासस














