१ असार, काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको निर्माण कार्यमा भइरहेको अनपेक्षित ढिलाइप्रति सभामुख डीपी अर्यालले कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार निर्माणस्थलको अनुगमन गर्दै सभामुख अर्यालले निर्माण पक्षको लापरबाहीप्रति आक्रोश पोख्दै अबको हरेक दिनको ढिलाइमा दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी दिएका छन् ।
गत जेठ १५ गते नै संसद् हलबाट बजेट सार्वजनिक गर्ने लक्ष्य राखिए पनि निर्माण कार्य अझै अधुरो रहनुलाई सभामुखले राष्ट्रको अपमानका रूपमा चित्रण गरेका छन् । अनुगमनका क्रममा निर्माण पक्षलाई कडा निर्देशन दिँदै उनले भने, ‘तपाईंहरूले बहाना मात्र बनाइरहनुभएको छ, यो केवल हाम्रो अवहेलना होइन, राष्ट्रकै अपमान हो । अब मलाई कुनै पनि बहाना होइन, काम सकिने यकिन मिति र स्पष्ट निष्कर्ष चाहिएको छ ।’
सभामुख अर्यालले काममा ढिलासुस्ती गर्ने ठेकेदार र जिम्मेवार निकायलाई सचेत गराउन सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बैठकमा बोलाउन निर्देशनसमेत दिएका छन् । पटकपटक समयसीमा सर्दै गएको संसद् भवन निर्माण कार्यलाई अब कुनै पनि हालतमा थप लम्बिन नदिने अडान सभामुखको छ ।
















