Logo

२ असार, वीरगञ्ज । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथको सडक सीमाभित्र रहेका बाँकी अवैध संरचनाहरू ५ (पाँच) दिनभित्र आफैँ हटाउन अन्तिम अल्टिमेटम दिएको छ ।

डिभिजन प्रमुख किरण कार्कीका अनुसार तोकिएको समयावधिभित्र संरचनाहरू नहटाइए सडक ऐन, २०३१ बमोजिम कार्यालय आफैँले ती संरचनाहरू भत्काउने र सडक सीमा खाली गराउने तयारी गरेको छ ।

सडक डिभिजनले आज एक सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा सडकको केन्द्र रेखा (सेन्टर लाइन) बाट दायाँ–बायाँ २५–२५ मिटर सडक सीमा संरक्षण गर्ने कार्य गत २०८३ वैशाख ६ गतेदेखि नै प्रारम्भ गरिसकेको स्मरण गराएको छ।

सडक सीमा खाली गराउने अभियानका क्रममा कतिपय भवनहरू आंशिक रूपमा भत्काइएका वा क्षतिग्रस्त बनेका थिए । तर, ती संरचनाहरू पूर्ण रूपमा नहटाउँदा र कतिपय घरधनी तथा व्यवसायीहरूले अझै पनि तिनै जोखिमयुक्त र क्षतिग्रस्त भवनहरूमा असुरक्षित रूपमा बसोबास तथा व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएको सडक डिभिजनले जनाएको छ ।

डिभिजन प्रमुख कार्कीले त्यस्ता जोखिमयुक्त भवनहरूमा कुनै पनि गतिविधि सञ्चालन नगर्न र तत्काल त्यहाँबाट हट्न आग्रह गरेका छन् । सूचनाको अवज्ञा गरी ती स्थानहरूमा बस्दा वा व्यापार गर्दा कुनै पनि अप्रिय दुर्घटना हुँदा सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुनुपर्ने चेतावनी समेत कार्यालयले दिएको छ ।


सम्बन्धित समाचार