Logo

३ असार, काठमाडौं । यात्रुहरूलाई हैरानी दिँदै मनपरी भाडा असुल्ने ‘बिचौलिया गिरोह’ विरुद्ध काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कडा कदम चालेको छ ।

बुधबार बिहान कालीमाटी र बल्खु क्षेत्रमा विशेष अपरेसन चलाउँदै प्रहरीले यात्रु ठग्ने ३५ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ । विशेष गरी बल्खु हुँदै उपत्यकाबाहिर जाने यात्रुहरूलाई लक्षित गरी लामो समयदेखि सक्रिय रहेका यी बिचौलियाहरूले टिकट काउन्टर आसपासमा ‘तानातान’ गर्ने र मोलमोलाइ गरी बढी भाडा असुल्ने गर्दै आएका थिए । यात्रुहरूले पटक(पटक गुनासो गरेपछि ट्राफिक प्रहरीले सक्रियता बढाउँदै उनीहरूलाई पक्राउ गरेको हो ।

सार्वजनिक हितविरुद्धको कसुरमा कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पक्राउ परेकाहरूलाई सामान्य सोधपुछपछि छाड्ने नभई कानूनी दायरामा ल्याइनेछ । एसपी सुवेदीले भने, “उनीहरूले यात्रुलाई हैरानी दिने र अनुचित लाभ लिने काम गरिरहेका थिए । अब आरोपीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइँदै छ ।” प्रहरीले उनीहरूमाथि ‘सार्वजनिक हितविरुद्धको कसुर’ मा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

कालीमाटी र बल्खु क्षेत्र लामो दूरीका सवारी साधन चढ्ने प्रमुख केन्द्रहरू हुन् । यहाँ बिचौलियाहरूको बिगबिगीले गर्दा यात्रुहरूले सास्ती भोग्दै आएका थिए । प्रहरीको यो आकस्मिक अपरेसनले यात्रुहरूलाई केही हदसम्म राहत मिलेको छ । ट्राफिक प्रहरीले यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न निरन्तर अनुगमन गरिने जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै