Logo

४ असार,वीरगञ्ज ।  देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०८२/०८३ को राजस्व संकलन लक्ष्य नजिक पुगेको छ। कार्यालयको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा लक्ष्यको ८८.८९ प्रतिशत राजस्व संकलन भइसकेको छ।

भन्सार विभागले वीरगन्ज भन्सारलाई चालू आर्थिक वर्षका लागि २ खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा हालसम्म २ खर्ब २१ अर्ब ५२ करोड रुपैयाँ राजस्व असुली भएको छ। आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी रहेकाले वार्षिक लक्ष्य पूरा गर्न थप ५१ अर्ब ८७ करोड रुपैयाँ संकलन गर्नुपर्ने देखिएको छ।

जेठ महिनाका लागि निर्धारण गरिएको २६ अर्ब २ करोड रुपैयाँ राजस्व लक्ष्यको ८४.८८ प्रतिशत अर्थात् २२ अर्ब ८ करोड ४५ लाख रुपैयाँ संकलन भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।

भन्सार कार्यालयका अनुसार जेठ ३१ गते एकैदिन ४१ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। सोही दिन कुल ४७१ वटा प्रज्ञापनपत्र जारी गरिएको कार्यालयले जनाएको छ।

भन्सार क्लियरेन्सलाई छिटो र व्यवस्थित बनाउन प्रयोग हुने ‘लेन प्रणाली’ अन्तर्गत हरियो लेनको हिस्सा ७ प्रतिशत रहेको छ। हरियो लेनमार्फत न्यून जोखिमयुक्त मालसामानको जाँचपास छिटो र सहज रूपमा हुने गरेको छ भने अन्य सामानहरू पहेंलो र रातो लेनमार्फत विस्तृत मूल्यांकन तथा भौतिक परीक्षणपछि मात्र जाँचपास गरिन्छ।

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्षमा भन्सार विभागको कुल वार्षिक लक्ष्यको ४६.४७ प्रतिशत जिम्मेवारी वहन गरिरहेको छ। विभागले देशभरका भन्सार नाकाका लागि तय गरेको ५ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ राजस्व लक्ष्यअन्तर्गत वीरगन्ज भन्सारलाई मात्रै २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ संकलनको जिम्मेवारी दिइएको छ।

जेठ मसान्तसम्म वीरगन्ज भन्सारले गरेको राजस्व असुली भन्सार विभागको कुल वार्षिक केन्द्रीय लक्ष्यको ३०.९६ प्रतिशत हुन आउँछ। त्यस्तै, ११ महिनाको समग्र देशव्यापी भन्सार राजस्व संकलनमा वीरगन्ज भन्सारको योगदान ३७.६६ प्रतिशत रहेको छ।

एकीकृत जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाह (आईसीडी) भन्सारको मर्जरपछि एकीकृत सेवा प्रदान गर्दै आएको वीरगन्ज नाकाबाट हुने सवारीसाधन, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आयातले राष्ट्रिय राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

आर्थिक वर्षको अन्तिम महिना असारमा लक्ष्य पूरा गर्ने उद्देश्यसहित भन्सार प्रशासनले निगरानी तथा राजस्व संकलन गतिविधिलाई थप तीव्र बनाएको जनाएको छ।

प्रमुख भन्सार प्रशासक मैनालीले अन्तर्राष्ट्रिय व्यापार विस्तार, आयात–निर्यात प्रक्रियाको सहजता तथा ठूला आयोजनाका लागि आवश्यक मेशिनरी सामग्रीको आयात वृद्धि भएमा तोकिएको लक्ष्य हासिल गर्न सकिने बताए। उनका अनुसार एमआरपी, कर दर तथा सवारीसाधन आयातसम्बन्धी नीतिगत जटिलतामा सुधार आए व्यापार वृद्धि भई राजस्व संकलन लक्ष्य प्राप्त गर्न थप सहज हुने छ।


सम्बन्धित समाचार