Logo

४ असार,काठमाडौं । पाकिस्तानका विभिन्न जेलमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिक रिहा भई स्वदेश फर्किएका छन्। अफगानिस्तानका सञ्चारमाध्यमहरूले बिहीबार उक्त जानकारी दिएका हुन्।

रिहा भएका व्यक्तिहरूमा परिवारसहितका नागरिकहरू पनि रहेका छन्। उनीहरूलाई अवैध रूपमा पाकिस्तानमा बसोबास गरेको तथा वैध आवासीय अनुमति नलिएको आरोपमा पक्राउ गरी जेल पठाइएको बताइएको छ।

स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा आवश्यक मानवीय तथा प्रशासनिक सहयोग उपलब्ध गराइएपछि उनीहरूलाई आ–आफ्नो प्रान्ततर्फ पठाइएको अफगान सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि पनि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान नागरिक गत सप्ताहन्तमा अफगानिस्तान फर्किएको जनाइएको थियो।

पाकिस्तानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकमाथि निगरानी तथा नियन्त्रण अभियान तीव्र बनाउँदै आएको छ। त्यसक्रममा पक्राउ परेका अफगान नागरिकहरूलाई रिहा गरी स्वदेश फिर्ता पठाउने प्रक्रिया निरन्तर जारी रहेको बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै