४ असार, काठमाडौं । विपद् व्यवस्थापन र अनुगमनका नाममा हुने हेलिकप्टरको दुरुपयोगलाई रोक्न गृहमन्त्री सुधन गुरुङले कडा निर्देशन दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै उनले विगतका सरकारहरूले बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने बहानामा राज्यकोषको चरम दोहन गरेको भन्दै अब त्यस्तो प्रवृत्ति पूर्ण रूपमा रोकिनुपर्ने स्पष्ट पारेका हुन् । यसै क्रममा मन्त्री गुरुङले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिँदै आफूले समेत अनुगमनका नाममा हेलिकप्टर नचढ्ने घोषणा गरेका छन् ।
विपद् प्रतिकार्यमा राज्य संयन्त्रको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै गृहमन्त्रीले अब ‘विपद् आएपछि मात्रै कुद्ने’ प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । घटना घटिसकेपछि उद्धार र राहतमा मात्रै केन्द्रित हुँदा अपेक्षित नतिजा हासिल गर्न नसकिएको औंल्याउँदै उनले पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित सबै निकायलाई सचेत गराए । सम्भावित जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी विपद् आउनुपूर्व नै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सजग र तयारी अवस्थामा राख्न उनको विशेष निर्देशन छ ।
बैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशित गर्दै मन्त्री गुरुङले विपद्को समयमा सबै निकायले एउटै एकीकृत टोली ९टिम० को रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पूर्वतयारी, चुस्त समन्वय र इमानदार प्रयाससहित राज्य संयन्त्र परिचालन हुने हो भने प्राकृतिक विपद्मा परेर कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने उनको दाबी छ । देखावटी अनुगमन र भ्रमणको औपचारिकताभन्दा पनि नागरिकको जीवन रक्षालाई केन्द्रमा राखेर परिणाममुखी काम गर्न उनले सुरक्षा संयन्त्रको ध्यानाकर्षण गराएका छन् ।
















